खोपको भाउ र जम्माखोरी गर्दा त्यसले थप चुनौती निम्तिन सक्नेः डब्लूएचओ



Download our app to get more features

बीबीसी, ६ माघ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् ।

टेड्रोस एडहानोम गेहब्रेयससले 'मलाई पहिला' भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए ।

त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन् ।

डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ ।

उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।

सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, "मैले केही खरो बोल्नु पर्ने भएको छ: विश्व नैतिक विफलताको डिलमा पुगेको छ - अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।"

आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, "अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।"

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् ।

सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन् ।

"मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड-१९ का खोप लगाउन थालियोस् भन्ने छ ।  जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्," डा टेड्रोसले भने । 

हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् ।

यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस् ।

यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन् ।

"हामीले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेका छौँ। थप एक अर्ब मात्राको पनि विकल्प रहेको छ। हामी फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा छौँ," डा टेड्रोसले भने ।

Last modified on 2021-01-21 09:05:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts