काठमाडौंका प्रतिष्ठित अस्पतालमा काम गरेका एकजना 'नक्कली डाक्टर' विरुद्ध मुद्दा दायर



Download our app to get more features

काठमाडौं, १७ फागुन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जना नक्कली डाक्टरविरुद्ध मुद्दा दायर गरेको छ । 

डाक्टर विजयश्याम रञ्जीतले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि उनी विरुद्ध मुद्दा दर्ता गरिएको ब्युरोका प्रवक्ता एवं एसपी गंगा पन्तले हाम्रो डाक्टर न्यूजलाई बताइन् ।

उनले डा. रञ्जीतले अर्कैको नामको दर्ता नम्बर राखी काम गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको र यो अहिले अनुसन्धानकै विषय रहेकाले यस विषयमा थप केहि खुलाउन नसकिने पनि बताइन् ।
  
डाक्टर रञ्जीतले एनएमसीको नक्कली दर्ता नम्बर लिएर काम गरेको पाइएपछि लिखतसम्बन्धी कसुरको आरोपमा सीआईबीले एक साताअघि मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

२०७१ सालदेखि रञ्जीतमाथि सिआइबीले अनुसन्धान सुरु गरेको थियो । 

डाक्टर रञ्जीत २०७१ साल तिर धापासीस्थित ग्राण्डी अस्पतालमा कार्यरत थिए ।  

रञ्जीतको आधिकारिकता खुलाई विवरण पठाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७१ फागुन ११ गते नेपाल मेडिकल काउन्सिल र ग्राण्डी अस्पतालको नाममा पत्र काटेको थियो । त्यस बेला सम्बन्धीत निकायबाट सहयोग नभएको भन्दै सिआइबीले उक्त फाइल अघि बढाउन सकेको थिएन । पछि अनुसन्धानको क्रममा डाक्टर रञ्जीतले डाक्टर लक्ष्मी केसीको नाममा काउन्सिलमा रहेको दर्ता नम्बर १०८५५ नम्बर प्रयोग गरेर काम गरेको पुष्टि भएको थियो ।

उक्त दर्ता नम्बर प्रयोग गरी डा.रञ्जतीले बी एण्ड बी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, मानसिक अस्पताल ललितपुर, गणेशमान सिंह मेमोरियल अस्पताल र ह्याम्स अस्पतालको आईसीयू, वार्ड तथा इमर्जेजेन्सीमा समेत काम गरेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान सुरु भएपछि उनी एक वर्षअघि जर्मनी फरार भएका थिए । डा.रञ्जीत नेपाल नफर्किएपछि सीआईबीले उनलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो । सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सोही सजाय माग गर्दै सीआईबीले मुद्दा दर्ता गरेको छ ।

काउन्सिलको परीक्षामा फेल भएर अर्काको दर्ता नम्बरबाट काम गर्दै आएका डा. रञ्जीतलाई ग्राण्डी अस्पतालले २०७१ साउनमा ‘ग्राण्डी स्टार अफ दि मन्थ’ का रुपमा पुरस्कृत समेत गरेको थियो । 

Last modified on 2021-03-03 08:48:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts