तपाईंलाई पाइल्सबारे थाहा छ ? जानौं लक्षण र जोगिने उपाय



Download our app to get more features

पाइल्स, अर्थात मेडिकल भाषामा ‘हेमोरोइड्स’ हामी धेरैलाई हुने स्वास्थ्य समस्या हो । दिशा गर्ने ठाउँ वरिपरि रहेका रगतका नलीहरू सुन्निएर यो समस्या देखिन्छ । दिशा गर्दा रगत आउने, मलद्वारमा मासु पलाएझै देखिने आदि पाइल्सको लक्षण हो । धेरै मानिसमा पाइल्स समस्या भए पनि अस्पताल जाने हिचकिचाहटले रोग लुकाउने गर्छन । अरु रोगजस्तैं यसको पनि समयमै उचित उपचार गरे निको हुन्छ । सुरुको अवस्थामा रहेको पाइल्सलाई त घरायसी विधि र खानपानमा केही परिवर्तन ल्याए ठीक हुन सक्छ । त्यसैले यस रोगको बारेमा सामान्य जानकारी राख्नु जरुरी छ ।

लक्षणहरु :
   दिशासँगै गर्दा रगत आउने ।
   दिशा गर्ने ठाउँमा मासु पलाउने वा दिशा गर्दा तल झर्ने ।
   दिशा गर्ने ठाउँ ओरीपरी चिलाउने, रातो हुने ।
   दिशा गर्दा दुख्ने, कब्जियत हुने ।
   लामो समयसम्म रगत गएमा रक्तअल्पता देखिने

कसरी थाहा पाउने ?
पाइल्स भएको हो की होइन भनेर थाहा पाउन यसको लक्षण र जाँच गर्नु आवश्यक हुन्छ । अस्पतालमा चिकित्सकले जाँच गरेपछी मात्रै पाइल्स भएको यकिन गर्न सकिन्छ ।

उपचार :
पाइल्सको उपचार यो कुन अवस्थामा छ भन्नेमा भर पर्छ । सुरुकै अवस्थामा रहेको पाइल्सलाई खानपान र व्यवहारमा केही परिवर्तन ल्याउनाले र केही औषधि सेवन गर्नाले सन्चो हुन सक्छ । यदि यो समस्या बल्झिदै गएको छ भने शल्यक्रिया गर्नुपर्छ । अवस्था हेरेर शल्यक्रिया विधिमा स्केलेरोथेरापी, बाइन्डिङ आदि गर्न सकिन्छ ।

सिज बाथ : सुरुकै चरणमा रहेको पाइल्स उपचार घरैमा पनि हुन्छ ।  दिनको दुई पटक १५ मिनेट जति मनतातो पानीमा दिशा गर्ने ठाउँ डुबाएर राख्ने तरिकालाई सिज बाथ भनिन्छ । यो विधिले पाइल्सका रोगीलाई केही हदसम्म फाइदा पुग्छ ।

फाइबरयुक्त खाना : पाइल्सका रोगीले तथा पाइल्सबाट बच्न फाइबरयुक्त खाना प्रशस्त खानुपर्छ । हरियो सागपात, फलफुल, गेडागुडी आदिले कब्जियत हुनबाट बचाउँछ र यसले पाइल्सका बिरामीलाई फाइदा गर्छ ।

प्रशस्त पानी : पाइल्सका रोगीले प्रशस्त पानी पिउनु पर्छ । पाइल्सका बिरामीहरुले बोसोयुक्त मासुको सेवन कम गर्नुपर्छ ।

Last modified on 2021-07-19 09:54:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts