डाक्टरको लापरबाहीले शिशुका ५ औंला काटिए

What's This?


Download our app to get more features

आन्द्राको शल्यक्रिया गरिएका पोखराका तीनमहिने शिशु संयोग अधिकारीको हातका पाँचवटै औंला काट्नुपरेपछि कान्ति बाल अस्पतालले आन्तरिक छानबिन सुरु गरेको छ । गत पुस १३ गते भर्ना भई १६ गते आन्द्राको शल्यक्रिया गरिएका संयोगको आन्द्राको शल्यक्रिया सफल भए पनि हातमा राता फोका देखापरेका थिए । ती फोकाका कारण संक्रमण भएको भन्दै हातका पाँचवटै औंला काटेर अस्पतालले उपचार प्रक्रिया अघि बढाएपछि अभिभावकले विरोध जनाएका थिए ।

अस्पतालका प्रवक्ता कैलाश झाले घटनाबारे छानबिन भइरहेको र विस्तृत विवरणसहितको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए । ‘ती शिशुको जन्मजात आन्द्रा बटारिएकाले शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपछि औंलाहरूमा केही फोका देखिएका थिए । त्यसको उपचार गर्नुपर्छ भन्दाभन्दै परिवारले डिस्चार्जका लागि कर गरेु, झाले भने, ‘त्यसपछि पुनः यहाँ आउन्जेल हातमा संक्रमण फैलिन थालिसकेको थियो । संक्रमणबाट बचाउन औंला काट्नुपरेको भन्ने भनाइ सम्बन्धित चिकित्सकबाट आइरहेको छ तर यसको वास्तविकताबारे छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।'

शिशुका अभिभावकले भने अस्पतालको लापरबाहीका कारण शिशुको दाहिने हातका पाँचवटै औंला काट्नुपरेको आरोप लगाएका छन् । ‘शल्यक्रियापछि संयोगलाई सघन उपचार कक्षमा राखिएको थियो । उनको दायाँ हात चल्दाचल्दै २२ गते अस्पतालले डिस्चार्ज गरेको थियो', संयोगका हजुरबुवा बुद्धिसागर अधिकारी भने, ‘पोखराको गण्डकी अञ्चल अस्पतालमा ड्रेसिङका लागि जाँदा अस्पतालले हड्डीको डाक्टरलाई रिफर गर्दै हातकै औंला काटनुपर्ने बताए । त्यसपछि हामीले पुनः संयोगलाई कान्ति ल्यायौं अनि यहाँ शल्यक्रिया गरेर पाँचवटै औंला काटियो ।'

उनले अस्पतालले आफ्नो गल्ती भएको भन्दै संयोगको निःशुल्क उपचार गरिदिने प्रतिबद्धतासमेत व्यक्त गरेको दाबी गरे । ‘हाम्रो बच्चामाथि लापरबाही भएको छ । हामी दोषीमाथि कारबाही चाहन्छौं,' उनले भने, ‘आगामी दिनमा अरूले यस्तो भोग्न नपरोस् ।'

अन्नपूर्ण

Last modified on 2016-02-18 08:36:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts