योग गर्न चाहनुहुन्छ भने पद्मासनबारे जान्नुहोस्...



Download our app to get more features

योगमा पद्मासनलाई सर्वश्रेष्ठ आसन भनेर चिनिन्छ । कमलको फूल हिलोमा उम्रन्छ, पानीमा रहन्छ र पानीमै फुल्छ तर यसलाई न हिलोेले छोएको हुन्छ न पानीले नै । त्यस्तै पद्मासनमा बसेर धेरै प्रकारका मुद्रा, प्राणायाम, कुण्डलिनी, चक्रका साथै उच्च कोटिका ध्यान गर्न सकिन्छ । किनकि, यो आसन नै एउटा मुद्रा हो ।

विधि
मेरुदण्ड सीधा बनाएर बस्ने । सर्वप्रथम बायाँ खुट्टाको पैतालालाई दाँया खुट्टामाथि राख्ने । अनि दायाँ खुट्टाको पैतालालाई बायाँ खुट्टाको पैतालामाथि राख्ने । यस आसनलाई पद्मासन भनिन्छ ।

दुवै हातलाई ज्ञान मुद्रा बनाएर दुवै घुडामाथि सीधा तन्काएर राख्नुपर्छ । देब्रे हत्केलामाथि दाहिने हत्केला राखेर पनि बस्न सकिन्छ । पद्मासनलाई करिब पिरामिड तथा त्रिकोणको स्वरुप बनाउनु उत्तम हुन्छ । दुवै हातलाई घुडामाथि बराबर तनक्क तन्काएर राख्नुपर्छ ।

दुवै हात र खुट्टा बराबर बनेन भने मेरुदण्डलाई केन्द्र बनाएर राख्नुपर्छ । सबै प्रमुख अंगहरुमा सूचना आदानप्रदान र सञ्चालन गर्न सजिलो हुन्छ ।

लाभ
आजभोलि मुटु, मृगौला, जोर्नी तथा हाड, कम्मरको नसासम्बन्धी समस्या, साइटिका, पिँडौला, पैताला फर्किनु, अस्वभाविक पीडा हुनुजस्ता धेरै रोग व्यापक बन्दै गएको पाइन्छ । यसको मुख्य कारण पद्मासनजस्ता आसनमा नबस्नु नै हो ।

हामी उभिएर खाना पकाउनेदेखि खानेसम्मको काम गर्छौँ । त्यस्तै कुर्सी, सोफा, पलङ, बेन्चमा बस्ने सुविधाभोगि बनेका छौँ । बिहान उठेदेखि राति नसुतेसम्म यो क्रम निरन्तर चलिरहन्छ । हाम्रो शरिरमा पैताला र मुटुको दूरी निकै फरक हुन्छ ।

पैतालाको फोहोर र रगतलाई मुटुले निकै बल गरेर तान्नुपर्ने र माथि मस्तिष्कमा सफा रगतलाई पम्प गरी पठाउनुपर्ने हुन्छ । यदि हामी पद्मासन या पैतालालाई मोडेर आसनमा बस्यौँ भने पैताला र मुटुको दूरी कम हुन्छ ।

यसले रक्त प्रणाली तथा मुटु वा किड्नीको समस्या समाधान गर्न मद्दत गर्छ । नसा, नाडी, हाड, स्नायू आदिको समस्याबाट बचाउन पनि ठूलो सहयोग गर्छ ।

अर्को मेरुदण्ड सीधा हुने भएकोले वा वक्षस्थल (छातीको भाग) फुल्ने भएकाले शरीरका सम्पूर्ण प्रणाली राम्रोसँग चल्ने अवसर मिल्छ । साथै पिरामिड या त्रिकोण शरीरको अवस्थामा आन्तरिक उर्जा शक्तिलाई सञ्चालन, विकास र पुर्ननिर्माण गर्न सजिलो हुन्छ ।

यसबाट सबभन्दा त मनलाई एकाग्र गर्न सहज हुन्छ । एकाग्रता नै मानिसको ठूलो शक्ति र स्वास्थ्य हो ।

योगीहरु पद्मासन मुद्रामा बसेर शारीरिक तथा मानसिक परिवर्तन गरी सम्पूर्ण व्यक्तित्व विकास गर्छन् । साथै यस आसनमा चक्रहरुको विज्ञान बुझ्नेले कुण्डलिनी शक्तिको उच्च अभ्यास गरी सम्पूर्ण मस्तिष्कको विकास तथा शक्ति जागरण गर्न सकिन्छ ।

पद्मासन कम्तीमा दिनको एक पटक ५ मिनेट नियमित गर्न सकेमा धेरै लाभ पाउन सकिन्छ ।

Last modified on 2019-08-14 09:03:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts