किंग्स कलेजले नर्सहरुका लागि सञ्चालनमा ल्यायो क्वारेन्टाइन



Download our app to get more features

काठमाडौं, ११ जेठ । किंग्स कलेजले आफ्नो नयाँ भवनमा नर्सहरुका लागि क्वारेन्टाइनको स्थापना गरेको छ ।

कलेजको बबरमहलस्थित आफ्ना नयाँ भवनमा नेपाल मेडिकल एसोसिएशन र नर्सिङ्ग एसोसिएशन अफ नेपालको समन्वयमा व्यवसायिक नर्सहरुका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो ।

क्वारेन्टाइन सेन्टरको स्थलगत व्यवस्थापन, आवश्यक सामग्री आपूर्ती लगागतका प्रमूख जिम्मेवारी किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल र अडारा समूहको साझेदारीमा रहने बताइएको छ ।
 
किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले अहिलेको अवस्थामा सबै जना आ–आफ्नो ठाउँबाट उठेर महामारीको समयमा भइरहेका सहयोगका गतिविधिहरूमा सामेल हुनु आवश्यक रहेको हुँदा किङ्गसका विद्यार्थीहरू, शिक्षकहरू तथा पूर्व विद्यार्थीहरू बिरामीहरूको जीवन बचाउने महत्वपूर्ण भूमिकामा हुने नर्सहरूलाई सेवा गर्ने अवसर पाउँदा गौरवान्वित भएको बताए ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मन कुमारी राईले कोभिडको बिरामीको सेवामा खटिने नर्सहरू आफैँ संक्रमित हुने उच्च सम्भावना रहेको भन्दै समुदायमा संक्रमण कम गर्न पनि यो प्रयास आवश्यक रहेका बताइन् । साथै घरमा क्वारेन्टाइनमा बस्न पनि निकै चुनौतिपूर्ण भएकाले यस्तो सहज, स्वस्थ र सुरक्षित ठाउँको आवश्यकता रहेको बताइन् ।

प्रथम चरणमा २५ जना नर्सहरुलाई समायोजित गर्न सकिने क्वारेन्टिन सेन्टरको क्षमता वृद्धि गरी १ सय जनासम्मलाई समायोजित गर्न सकिने बनाइनेछ । क्वारेन्टाइन सेन्टरमा नर्सहरुलाई प्रदान गरिने सबै सुविधाहरु निःशुल्क हुनेछन् । कोभिडका बिरामीहरूको सेवाको लागि अहोरात्र खटिनु भएका समर्पित नर्सहरूलाई सहज ढंगले स्वस्थ खाना, सफा तथा सुरक्षित आवास उपलब्ध गराउन केन्द्र प्रतिबद्ध रहने बताइएको छ । 

यस केन्द्रमा आराम गर्ने तथा सुत्ने बेड तथा आवश्यक सामग्रीहरू र दैनिक ३ पटक सन्तुलित भोजन उपलब्ध हुनेछ । साथै क्वारेन्टिनमा बस्नेहरूको शारीरिक तथा मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई कायम राख्न चिकित्सकहरूबाट नियमित भ्रमण र अनुगमन हुनेछ । 

क्वारेन्टाइनमा बस्न आवश्यक  तथा इन्छुक भएका नर्सहरूले नेपाल नर्सिङ संघसँग सम्पर्क गर्नु पर्नेछ भने नेपाल नर्सिङ संघ नर्सहरूको छनौटको लागि आधाकारिक निकाय हुनेछ ।
 
क्वारेन्टिन सेन्टर सञ्चालनका लागि किङ्गस कलेज र किङ्गस क्लबले आफ्नो सञ्जालमार्फत आवश्यक स्रोत जुटाइरहेका छन् । 

नीतिशाला र नेपालस्थित बुढानीलकन्ठ भूतपूर्व विद्यार्थी समाज स्थानीय सहकर्मीको रूपमा स्रोत जुटाउन सहयोग गरेका छन् । 

अन्तर्राष्ट्रिय रूपमा इम्प्याक्ट वीक र उत्तर अमेरिकास्थित बुढानीलकन्ठ भूतपूर्व विद्यार्थी समाजले स्रोत जुटाउन सहयोग गरेका छन् भने आवश्यक सामग्रीको ढुवानीको लागि उपाय सिटी कार्गोले सहयोग गरेको छ । 

यी संस्थाहरूसँगै नेपाल रेडक्रस समाज, भायानेट कम्युनिकेसन प्रा.लि.,यति केम डिस्ट्रिब्युटर्स, हलेसी डेकोर र अन्य व्यक्ति तथा संस्थाहरूले सहयोगको हात जुटाएका छन् ।
 
अडारा समूहका प्रल्हाद ढकाल क्वारेन्टाइनको स्थापनामा सहयोग गर्नुको कारण खुलाउँदै भन्छन्  “यस प्रयासको हिस्सा हुन पाउँदा हामी खुसी छौँ । हामी मिलेरै यस भाइरसमाथि जीत हासिल गर्छौँ भन्ने विश्वास छ ।” 

नर्सहरू बिरामीको जीवनमा आशा जगाउने भगवान सरह हुन्छन् भन्दै  करुणा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक दीपक राज सापकोटा थप्छन्, “नर्सहरूलाई उनीहरूको सहजताको लागि मात्र होइन अझै बढी विरामीको सेवाको लागि पनि हामी सबैको सहयोग आवश्यक छ ।”

Last modified on 2021-05-25 19:29:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts