केडीसी जनरल हस्पिटलको मेडिकल डाइरेक्टरमा डा. कार्की



Download our app to get more features

काठमाडौं, २ साउन । केडीसी जनरल हस्पिटलको मेडिकल डाइरेक्टरमा डा. विक्रम कार्की नियुक्त भएका छन् । 

कान्तिपुर डेन्टल कलेजद्वारा सञ्चालित सय शय्याको हस्पिटलको सञ्चालक समितिले शुक्रबार डा. कार्कीलाई मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो ।

डा.कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस र काठमाडौँ मेडिकल कलेजबाट इन्टर्नल मेडिसिनमा एमडी गरेका छन् ।

हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले डा.कार्कीको आगमनसँगै जनरल हस्पिटलले नयाँ उचाई लिने बताए । उनले अब हस्पिटलमा बिहान ७ बजेदेखि साँभ ७ बजेसम्म जनरल ओपिडी समेत सञ्चालनमा आउने जानकारी दिए ।

डा.श्रेष्ठले केडीसी जनरल हस्पिटलले कोभिड–१९ को पहिलो र दोस्रो दुबै लहरमा  बिरामीको उपचारमा उत्कृष्ठ कार्य गरेको भन्दै कोरोना संक्रमित गम्भीर बिरामी केडीसीमा उपचार भई स्वस्थ भएर घर फर्केको हुँदा त्यसले हाम्रो सेवा उत्कृष्ठ रहेको पनि दावी गरे ।

केडीसी जनरल हस्पिटलमा अहिले अर्थोपेडिक, स्त्रीरोग तथा प्रसूति, युरोलोजी, जनरल सर्जरी, डर्माटोलोजी, इएनटी, ग्यास्ट्रो इन्टेरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, न्युरोसर्जरी लगायतका सेवा उपलव्ध छ ।

हस्पिटलले क्रेनियो म्याक्जिलोफेसियल ट्रमा सेन्टर स्थापना गरिसकेको छ । यस्तै १७ बेड आईसीयू सहित हस्पिटलले अहिले कोभिड परीक्षणका लागि पिसिआर ल्याब समेत सञ्चालनमा ल्याएको छ । यस्तै प्याथोलोजी, फिजियोथेरापीसमेतका सेवा उपलब्ध रहेको हस्पिटलले जनाएको छ ।

मुख तथा दन्त उपचार सेवामा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर देशकै उत्कृष्ठ संस्थाको रुपमा परिचित छ । ‘केडीसी जनरल हस्पिटललाई पनि हामी त्यस्तै उत्कृष्ठ बनाउने योजना अनुसार अघि बढेका छौँ,’डा. श्रेष्ठले भने ।

Last modified on 2021-07-17 19:40:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts