अपडेट

कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीन पुग्यो डब्लूएचओको टोली

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, २७ असार । विश्व स्वास्थ्य संगठनको एक टोली चीन पुगेको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विशेषज्ञसहितको एक टोली चीन पुगेको हो । समाचार संस्था रोयटर्सका अनुसार संगठनको टोली चीनका वैज्ञानिकहरुसँग मिलेर कोरोना भाइरसको बारेमा काम गर्नेछन् । संगठनले यसअघि नै चीनबाट सुरु भएको कोरोना भाइरसको विषयमा अध्ययन गर्नका लागि टोली चीन पठाउने निर्णय गरेको थियो ।

यसैबीच, विश्व स्वास्थ्य संगठनको आपतकालिन कार्यक्रमका प्रमुख डाक्टर माइक र्यानले कोरोना भाइरसलाई पूर्ण रुपले अन्त्य गर्न नसकिने बताएका छन् । संगठनको नियमित मिडिया ब्रिफिंगको क्रममा डा र्यानले अहिलेको अवस्थालाई हेर्दा कोरोना भाइरसलाई संसारबाट पूर्ण रुपले अन्त्य गर्न सकिने अवस्था नरहेको बताए । उनले भने, “जुन क्लस्टरमा संक्रमणको अत्यधिक केसहरु आइरहेका छन् त्यहाँ कोरोना भाइरसलाई फैलिनबाट रोकेर हामी महामारीको दोस्रो चरणलाई सुरु हुनबाट जोगिन सक्छौं । तर, त्यसका लागि सबैले लकडाउनको नियमलाई पालना गर्नुपर्ने हुन्छ । अन्यथा अवस्था झन् भयावह बन्दै जान्छ ।”

नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु 
नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचाररत मृत्यु भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर मुकुन्द राज जोशीले असार १९ गते भर्ना भएका काठमाडौं गोकर्णका ५४ वर्षको पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । उनका अनुसार मिर्गौलाका बिरामी ती पुरुषमा स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको र २५ गते कोरोना परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएको थियो । शुक्रवार मात्रै उनको रिपोर्ट आएको र त्यसमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक व्यक्तिको शनिवार शव व्यवस्थापन गरिएको पनि डा जोशीले बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो
भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आज बिहानको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा भारतमा २७ हजार १ सय १४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो एकैदिन भेटिएको हालसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ लाख २० हजार ९ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ हजार १ सय २३ पुगेको छ ।

बेलायत कोरोना भाइरस विरुद्धको खोपको अभियानमा सहभागि नहुने 
युरोपिय संघ कोरोना भाइरस विरुद्धको खोप विकास गर्ने अभियानमा सहभागि नहुने जनाएको छ । संघका लागि बेलायतका राजदूत सर टिम ब्यारोले बेलायत युरोपिय संघको कोरोना भाइरस विरुद्धको खोपको अभियानमा सहभागि नहुने बताए । युरोपिय कमिशनका  महासचिवलाई लेखिएको पत्रमा उनले बेलायत खोपको अभियानमा सहभागि हुन नचाहेको उल्लेख गरेका छन् । युरोपिय संघको खोप विकासको अभियानमा बेलायतको निर्णय महत्वपूर्ण हुने यसअघि युरोपिय संघले नै बताएको थियो । बेलायतको यो निर्णयपछि अब संघ कसरी अघि बढ्छ भन्ने अन्यौल भएको छ । 

विश्वभर हालसम्मकै धेरै कोरोना संक्रमित थपिए 
विश्व स्वास्थ्य संगठनले विश्वकै पछिल्लो २४ घन्टामा थप २ लाख २८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेको बताएको छ । संगठनका अनुसार संक्रमणको सबैभन्दा बढी केश अमेरिका, ब्राजिलल, भारत र दक्षिण अफ्रिकमा फेला परेका छन् । यो विश्वभर एकैदिन थपिएको हालसम्मकै धेरै संख्या रहेको पनि संगठनले जनाएको छ । यसअघि एकदिनमा सबैभन्दा बढी संक्रमित चार जुलाईमा फेला परेका थिए । २ लाख १२ हजारभन्दा बढी संक्रमित चार जुलाईमा थपिएका थिए ।

अमेरिकामा एकैदिन थपिए ७० हजार कोरोना संक्रमित 
विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा दिन प्रतिदिन कोरोना संक्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । यो एकैदिन भेटिएको हालसम्मकै धेरै कोरोना संक्रमितको संख्या हो । यो संख्यासँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय नाघेको छ । यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६ सय नाघेको छ । 

 

यसैबीच, अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ एलर्जी एन्ड इन्फेक्शियस डिजीजका प्रमुख डाक्टर एन्थोनी फाउचील लकडाउन खोल्नुमा हतार गरिएकोले कोरोना संक्रमणमा तीव्रता आएको बताएका छन् । शुक्रवार इन्टरनेशनल एड्स सोसाइटीको एक बैठकमा बोल्दै उनले अमेरिकाका केही राज्यले कोरोना महामारीलाई ध्यानमा राखि लगाइएको लकडाउन खोल्नमा हतार गरेकोले संक्रमणमा तीव्रता आएको बताए । कोरोना भाइरसको संक्रमण सम्भवतः हावाबाट पनि फैलिन थालेको हुनाले यसबाट जोगिन सबैले सतर्कता अपनाउनुपर्ने पनि उलने आग्रह गरे । तर, हावाबाट कोरोना संक्रमण फैलिन थालेको विषयमा अझै ठोस प्रमाण फेला नपरेकाले यसको अध्ययन जारी रहेको भन्दै सचेत भने रहन र लकडाउनलाई खोल्न हतार नगर्नपनि सबैलाई सुझाव दिए ।

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
ब्रजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार ५ सय २४ पुगेको छ । अमेरिकी विश्व विद्याल जन हपकिन्सका अनुसार १८ लाख ४ हजार नाघिसकेको छ । 

बेलायतमा अब सेल्फ आइसोलेशनमा बस्न नपर्ने 
बेलायतमा बाहिरी मुलुकबाट आउने व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न नपर्ने भएको छ । बेलायत सरकारले शुक्रवार दिएको जानकारी अनुसार विभिन्न मुलुकबाट बेलायत आउने विदेशी नागरिकलाई अब दुई साता सेल्फ आइसोलेशनमा बस्न नपर्ने बताउको हो । बीबीसीका अनुसार ७५ मुलुक र ब्रिटिश विदेशी क्षेत्रबाट आउने मानिसहरुका लागि बनाइएको नियममा बेलायत सरकारले छुट दिने भएको हो । फ्रान्स, इटली, बेल्जियम, जर्मनी र अन्य दर्जनौं मुलुकबाट बेलायत जाने मानिसहरुलाई अब १४ दिनसम्म आइसोलेशनमा बस्नु पर्दैन ।

विश्वभर फैलिएको नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड २६ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड २६ लाख ३१ हजार ६७ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमणका लागि विश्वभर ५ लाख ६२ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने विश्वभर संक्रमित भएकामध्य ७३ लाख ६६ हजार ४ सयभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-07-11 11:32:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts