भारतमा तेस्रो पटक कोरोनाका कारण ४ लाखभन्दा धेरैमा संक्रमण

आन्ध्र प्रदेशमा देखिएको नयाँ भेरिएन्ट खतराको संकेत



Download our app to get more features

भारत, २४ वैशाख । भारतमा तेस्रो पटक कोरोनाका कारण ४ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ लाख १४ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा यो तेस्रो पटक हो, जब एकैदिन कोरोनाका कारण ४ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।  

यसअघि पहिलो पटक अप्रिल ३० मा भारतमा एकैदिन ४ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने गत बुधबार मे ५ का दिन पनि ४ लाख १२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो । 

भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण देखिएसँगै विश्व किर्तिमानी पनि बनेको छ ।

गत २४ घन्टामा थपिएका नयाँ संक्रमितसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड १४ लाख ८५ हजार २ सय ८५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण ३ हजार ९ सय २० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख ४ हजार ७४ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ करोड ७५ लाख ९७ हजार ४ सय १० जना स्वस्थ भएका छन् ।

कोरोनाको दोस्रो लहरले भारतलाई नराम्ररी प्रभावित बनाएको छ । दैनिक संक्रमित थपिने र मृत्यु हुने दर बढ्दै जाँदा समस्या गम्भीर बन्दै गएको छ । विभिन्न राज्यमा निषेधाज्ञा, लकडाउन र आंशिक लकडाउन गरिएपनि महामारी नियन्त्रणमा आउन सकेको छैन । 

विश्वका वैज्ञानिकहरुले कोरोनाको दोस्रो लहरले भारतलाई थप प्रभावित बनाउन सक्ने चेतावनी दिँदै आएको छ । 

भारतमा देखिएको कोरोनाको भेरिएन्टले अवस्था जटिल बनाउँदै गएको छ भने भारतकै विभिन्न राज्यमा कोरोनाका थप नयाँ भेरिएन्टले समस्या गम्भीर हुँदै गएको छ । 

हालसालै मात्रै भारतको आन्ध्र प्रदेशमा देखिएको कोरोनाको नयाँ भेरिएन्टले चुनौती थपेको छ । भारतीय वैज्ञानिकहरुले आन्ध्र प्रदेशमा देखिएको कोरोनाको नयाँ भेरिएन्टले १७ गुणा तीव्र गतिमा फैलाउन थालेको छ । 

कोरोना महामारीले भारतको अवस्था भयावह बन्दै गर्दा केन्द्र सरकारले खासै चासो नदिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना हुँदै आएको छ ।

Last modified on 2021-05-07 11:43:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts