नेपालकै पहिलो नर्सिङ्ग पीएचडी होल्डर रोजी भन्छिन्,‘भनसुन नलाग्ने काम खोज्दा नर्स पढे’

What's This?


Download our app to get more features

वि.सं.२०२४ साल भदौ ६ गते धरानमा जन्मिएकी रोजी श्रेष्ठ, नेपालकै पहिलो नर्सिपङ पिएचडी होल्डर हुन् । श्रेष्ठ आफ्ना बा–आमाका ४ जना सन्तान मध्ये माइली छोरी हुन् । सानैमा बुबाको मृत्यु भएपछि उनीहरूको लालनपालन आमाले नै गरिन् । उनको आमा पनि नर्स नै थिइन् । 

आमालाई भेट्न अस्पताल जाँदा आमाले लगाएको नर्सको पोसाकले उनीलाई मोहित बनाउने गर्दथ्यो । त्यो बेला नर्सहरू धेरै थिएनन् सबैले सम्मान गर्ने गरेको उनी भन्छिन् । 

एसएलसी पास गर्नासाथ उनलाई विवाहको प्रस्ताव आयो । विवाहको प्रस्ताव ल्याउनेमा उनकै आमाको साथी थिइन् । आमाको साथीले आफ्नै भाइका लागि कुरा ल्याएकी थिइन् । आमाको कुरा मिलेपछि उनको विवाह भयो । श्रेष्ठ भन्छिन्, ’त्यो बेला विवाहको कुरा छोरीहरूलाई सोध्ने प्रचलन थिएन्  । आफुलाई त्यस्तो विवाह गर्ने भन्ने थिएन् त्यो भन्दा आमाले बुबाको घर धरानमा गएर बस भन्नुभयो । त्यसपछि लाग्यो विवाह गर्नुपर्ने रहेछ ।’

विवाह पछि श्रेष्ठ काठमाडौं आइन् । उनका श्रीमान त्यतिबेला जनकपुर चुरोट कारखानामा काम गर्दथ्ये । श्रीमानको स्थायी घर भोजपुर भएपनि उनीहरू काठमाडौं नै बस्न थाले । 

काठमाडौंमा श्रेष्ठको परीवार चाबहिलमा बसोबास गर्दथ्यो । विवाह भएपछि पनि उनले पद्मकन्या क्याम्पसमा आइए पढन् थालिन । त्यतिबेला बुहारीहरूले पढ्न हुँदैन् भन्ने प्रचलन थियो । उनका सासु ससुराले पनि उनलाई हाम्रोमा बुहारीहरूले त पढदैनन् नै भएको उनी सुनाउँछिन् । तर आफ्नै जबरजस्तीले उनले पढाइ भने छाडिनन् ।

त्यतिबेला गाडिहरू त्यतिधेरै हुँदैन थिए,भएपनि चढ्ने पैसा हुँदैन थियो । त्यसैले चाबहिल देखि बागबजारसम्म हिड्दै आउनेजाँने गर्दथ्ये,श्रेष्ठ भन्छिन् ।

बिहानको घरको काम सकेर उनी कलेज जान्थिन् । घर ११,१२ बजेतिर फकर्ने बेला हुन्थ्यो,घाममा उनी हिँडेर नै चाबहिल पुग्ने थिन् ।

उनी भन्छिन्,त्यो बेला सबै कुरा श्रीमानलाई भन्ने अवस्था हुँदैन थ्यो । आफ्ना दुखहरु आफैसँग राख्नु पर्दथ्र्यो । त्यसैले मलाई दुख भयो गाह्रो भयो भन्न सकिएन । 

आइए पढेर पनि उनले काम पाउन सकिनन् । त्यसैले उनको दिमाखमा के पढदा कसैलाई नभनी काम पाउन सकिने रहेछ भन्ने कुरा खेल्न थाल्यो । त्यो बेला उनको दिमाखमा आएको कुरा थियो नर्सिङ्ग ।

त्यसबेला उनका श्रीमानले पनी उनलाई नर्सिङ्ग पढनका लागि आग्रह गरे । श्रीमानले नर्सिङ्ग पढ भन्नुको कारण श्रीमती स्माट हुन्छे भन्नी रहेको श्रेष्ठ बताउछिन् ।

एकदिन पद्मकन्या पढने साथीहरुले पीसीएल नर्सिङ्ग पढ्नको लागि फर्म भर्ने मिति आज अन्तिम हो भर्ने भए भर भनेपछि उनलाई त्यो कुराले छोयो । त्यसपछि उनले बिहेमा लगेको सिक्री राखी २ सय निकालेर नर्सिङ्गको भर्ना गरिन् ।

महाराजगन्ज नर्सिङ्ग कलेजको पीसीएल नर्सिङ्ग पढ्ने श्रेष्ठहरू पहिलो ब्याच हुन् । त्यो ब्याचमा ८० जना विधार्थी थिए । त्यतिबेला पीसीएल नर्सिङ्ग पढ्ने विधार्थीलाई सरकारले प्रोत्साहन स्वरुप २ सय दिने गरेको उनी सुनाउछिन् । त्यसले उनलाई पढ्नमा भने अलि सहज बनाएको थियो । 

पीसीएल नर्सिङ्ग पढिसकेपछि उनले प्रसुति गृह थापाथलीमा काम गरिन् । त्यसपछि टिचिङ्ग अस्पतालमा गरिन् । 

नर्सिङ्ग पास गरेपछि उनको एउटा नमिठो सम्झना छ त्यो हो आर्मी अस्पतालमा आफु नछानीनु । उनी भन्छिन्,‘आर्मी अस्पतालले मान्छे मागेको थियो,मसँगै मेरो एउटा साथीले निवेदन दिएका थियौं । साथीलाई भने अस्पतालले लियो तर मलाई लिएन्,कारण म विवाहित थिए । त्यो समयमा नर्सिङ्ग पढने भनेकै अविवाहितले हो भन्ने गरिन्थ्यो ।’

धरानमा बी पी क्यान्सर अस्पताल खुलेपछि भने उनी धरानमा गइन् । बढुवा नभएपछि उनले बीएन पढ्न थालिन् । १० वर्षपछि उनले बीएन पढ्न थालेकी हुन् । त्यसपछि उनलाई पढाई त समयमा नै पुरा गर्नुपर्ने रहेछ भन्ने लागेको थियो । बिएन सकेको ३ वर्षपछि उनले मास्टर गरिन् । 

मास्टर सकेपछि पीएचडी गर्ने सोच भएपनि नेपालमा नभएका कारण यत्तिकै बसेकी थिइन् श्रेष्ठ । तर, पछि नेपाल सरकारले स्टाफ नर्समा नेपालमा नै पीएचडीको फर्म खुलाएपछि उनले पनि भरिन् । नभन्दै उनको नाम पहिलो नम्बरमा निस्कियो । पीएचडी गर्नेको २ वटा कोटा थियो । 

पीएचडी गर्न पाउने उत्साह त छदै थियो । त्योसँगै उनीमाथि अरु जिम्मेवार पनि थपिएको थियो । पीएचडीको कोर्ष ५ वर्षको थियो । कहिलेकाहि उनलाई पढ्न सकिदैन कि भन्ने चै लाग्थ्यो तर हिम्मत हारिनन् ।  

पीएचडी गर्दा उनको खुशी सँगसँगै दुःख पनि उतिकै थियो । आफुले काम गरिरहेको कार्यक्षेत्रबाट भने आफुले सहयोग पाउन नसकेको सुनाउछिन् । बीपी का अन्य सिनीयर कर्मचारीहरुले उनलाई सहयोग गरेनन् । उनलाई की जागीर छाड्न की पीएचडी छाड्न भनियो । अन्तत उनले १९ वर्ष काम गरको बी पी क्यान्सर अस्पतालबाट राजीनामा दिइन् । 

श्रेष्ठ भन्छिन्,२० वर्षमा मेरो पेन्सन हुन्थ्र्यो, पाउने बिदा नी नमिलाई दिएपछि मैले राजीना दिए । त्यस्तो नभएको भए अहिले पेन्सन खाँदै हुन्थ्ये होला । 

‘उनले जागिर छोडेकै समयमा यत्ता उनका श्रीमान पनि जागीरबाट सेवानिवृत भएका थिए । श्रीमान श्रीमतीकै जागीर थिएन,उत्ता उनको जेठो छोरो डाक्टर पढ्दै थिए । त्यो समयमा कसरी मिलाए होला सम्झदा नी आतेस लाग्छ,’ श्रेष्ठ भन्छिन् । 

उनीसँगै पीएचडी गरेकी अर्को साथीले भने अध्ययनलाई नीरन्तरता दिन सकिनन् । त्यसैले पीएचडी गर्ने पहिलो ब्याचमा श्रेष्ठ एक्लै थिइनन् । सँगै नाम निकालेकी साथीले दोस्रो ब्याचसँग पढिन । त्यसले गर्दा उनको ५ वर्षको पीएचडी सकिन ६ वर्ष लाग्यो । 

‘अध्ययनसँगै सकाएपनि पीएचडीको सर्टिफिकेट भने पहिलो र दोस्रो दिन गरेर दिएको श्रेष्ठ बताउँछिन् । साथीले दोस्रो ब्याचसँग पीएचडी पढेको भएर साथीलाई दास्रो दिन र आफूलाई पहिलो दिन सर्टिफिकेट दिएको उनको भनाइ छ । त्यहि पहिलो दिन सर्टिफिकेट पाएको भएर म नेपालकै पहिलो पीएचडी गर्ने नर्स भएको हुँ,’श्रेष्ठ भन्छिन् । 

पछिल्लो समयमा नर्स पढेका विधार्थीहरू बढी विदेशिनु पर्ने बाध्यता रहेको उनी बताउँछिन् । नर्सको समस्याको बारेमा वकालत गर्नुपर्ने व्यक्तिहरूले गरिदिएनन् । कुर्सीको मोहमा त्यस्ता व्यक्तिहरूले केहि नबोलिदिँदा समस्या बढ्दै गएको उनको भनाइ छ ।

 

(श्रेष्ठ बी एण्ड बी अस्पतामा नर्सिङ्ग डाइरेक्टरको रुपमा कार्यरत छिन् )

Last modified on 2022-03-20 13:40:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts