भरतपुरको क्यान्सर अस्पतालमा तीन सय शय्या थप गरिने



Download our app to get more features

चितवन, २२ असार । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन सय शय्या थप गरिने भएको छ । 

अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४ सय ९४ शय्या पु¥याउन लागिएको हो । हाल अस्पतालमा १ सय ९४ शय्या छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शय्या प्रयोगमा ल्याइने तयारी गरिएको हो । उनका अनुसार २०५७ सालमा एक सय शय्याबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शय्या थपिएको थियो । 

अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आउनुभएका रमेश पाण्डेका अनुसार सो भवन एक लाख ३० हजार स्क्वायर फिटको छ । ०६९ सालमा निर्माण थालिएको सो भवन झण्डै ७० करोडको लागतमा निर्माण गरिएको हो । भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको अस्पतालले जनाएको छ । 

सो भवनको भुईतलामा दुई हजार दुई सय  स्क्वायर फिटको खाली ठाउँसमेत छ । भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको पाण्डेले बताए ।  अस्पतालमा शय्याको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो । अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका नौवटै विभागका आवश्यकअनुसार शय्या विस्तार हुने भएका छन् । कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ । 

केमो चढाउने बिरामीलाई सो वार्डमा राखिने भएकाले त्यहाँ बिरामीको चाप हुने गरेको हो। हाल अस्पतालमा बिरामीले भर्ना भएर उपचारका लागि पालो कुर्नुपर्ने अवस्था छ । चीन सरकारको सहयोगमा ०५७ सालमा स्थापना भएको यस अस्पतालमा वार्षिक एक लाख ३० हजार हाराहारीले सेवा लिँदै आएका छन् । जसमध्ये आठ हजारभन्दा बढी क्यान्सरका रोगी छन् । नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाट पनि बिरामी यहाँ उपचारका लागि आउने गर्छन् । रासस

 

Last modified on 2018-07-07 07:29:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts