चिकित्सक जोडी जसले रोजे फरक पेसा


Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

श्रीमान् मेडिकल डाक्टर, श्रीमती नर्सिङ कलेजमा अध्यापन गराउने शिक्षिका । दुवैको पेसामा नाम र दाम पर्याप्त थियो । उनीहरूले चाहेको भए यही पेसाबाट बर्सेनि घर र गाडी फेर्न सक्थे, विदेश भ्रमण गर्न सक्थे । तर, उनीहरूमा यस्तो सोख कहिल्यै पलाएन । उनीहरूसँग सिर्फ १८ वर्ष पुरानो टाटा इन्डिको कार र एक थान मोटर साइकल छ । यही साधन प्रयोग गरेर उनीहरू समाजमा हेपिएका र पिछडिएका वर्गको सेवामा निरन्तर लागिरहेका छन् । उनीहरूलाई आफ्नो होइन यिनै वर्गको उत्थान कसरी गर्न सकिएला भन्ने चिन्ताले सताउँछ । उनीहरू अर्थात् डाक्टर यज्ञमान शाक्य र रोमा राउत शाक्य ।

एक दिन भारतीय टेलिभिजनमा प्रसारण भएको वृद्धवृद्धासम्बन्धी कार्यक्रम हेरेपछि उनीहरूको मन बदलियो । उनीहरूले तत्काल बाँकी जीवन वृद्धवृद्धाको सेवामा बिताउने अठोट गरे । अठोट त गरे, तर गर्ने कसरी, कहाँ जाने उनीहरूलाई पत्तो भएन । त्यसपछि थप जानकारी लिन सम्बन्धित मानिसलाई भेट्न र पत्रपत्रिका पढ्न थाले । टेलिभिजनमा आयुधामबारे थाहा पाए र त्यतै होमिए । त्यहाँबाट केही कुरा सिके र सुरु गरे वृद्धवृद्धा राख्ने आश्रम । आश्रम निर्माणका लागि भनेर पोखरा महानगरपालिका–१२ माटेपानीमा घरसहित एक रोपनी पाँच आना जग्गा किने । जहाँ उनीहरूले इच्छाएको सपना रोपे । जसलाई नाम दिए आनन्दित गृह अर्थात् हेप्पी होम । 

vayoda

Hamro Doctor Apps2

भएभरको सम्पत्ति वृद्धाश्रममा खर्चेको देखेर आफन्त र छरछिमेकले डाक्टर जोडी पागल भए पनि भने । कतिपयले पैसा धेरै भएपछि दिमाग ठीक ठाउँमा हँुदैनसमेत भने । अरूले जे–जस्ता टिप्पणी गरे पनि विचलित नभई शाक्यदम्पती निरन्तर लागिरहे । अहिले उनीहरूले रोपेको आनन्दित गृहले ६ वर्ष पूरा गरेको छ । 

काममा पर्फेक्ट डा. शाक्य
डाक्टर यज्ञमान शाक्य पाल्पाका स्थायी बासिन्दा हुन् । स्कुलको पढाइ सकेर पाल्पामै आइए पढ्न थालेका थिए । तर, बीचमा पुगेर उनलाई यो विषय मन परेन । प्राविधिक शिक्षा पढ्नुपर्छ भन्ने लाग्यो । उनले स्वास्थ्य क्षेत्र रोजे । काठमाडांै महारगन्जमा उनी हेल्थ असिस्टेन्ट पढ्न भर्ना भए । हेल्थ असिस्टेन्टको पढाइ सकेर उनले सरकारी जागिर खाए । देशका दुर्गम ठाउँमा पुगेर सेवा पनि गरे । 

यसरी सेवा गर्दा उनले विशेषज्ञ सेवाको कमी महसुस गरे । त्यसपछि डाक्टर पढ्ने निधोमा पुगे । आफ्नै खर्चमा विशेषज्ञको कोर्स गर्न तत्कालीन सोभियत संघ गए । एमबिबिएस सकेर सेक्सोलोजिस्ट पढ्ने इच्छा भए पनि त्यो भने पूरा नभएको उनले बताए । उतै हाडजोर्नीमा तथा नसा रोगमा विशेषज्ञता हासिल गरे । त्यसपछि नेपाल फर्के । 

कालिकोटमा काम गर्ने क्रममा बाख्राको दिसा नखुल्दासमेत गाउँलेले उनलाई हारगुहार गरेको र दिसा खुल्ने बनाइदिएकाजस्ता रमाइला अनुभव उनले बटुलेका छन् । जागिरकै सिलसिलामा उनी ०४९ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सरुवा भएर आए । त्यहीँबाट रिटायर्ड भए । ०७० सालमा रिटायर्ड भएका उनले जागिरकै सिलसिलामा जन्मथलो पाल्पामा सरुवाका लागि विभिन्न मन्त्रालय धाए । तर, त्यो सफल हुन सकेन । जहाँ सेवा गरे पनि नेपालीको सेवा गर्ने हो भन्ने सोच राखे ।

रोमाको पार्टटाइम अध्यापन, फुलटाइम आश्रममा सेवा
उनको हरेक काममा साथ दिइरहेकी छिन् रोमा राउत शाक्यले । हुन त रोमा राउत शाक्य पनि फुर्सदिला होइनन् । तर, श्रीमान्को पवित्र कार्यमा साथ दिन विभिन्न एनजिओ–आइएनजिओको फुलटाइम जागिर छाडेर क्याम्पसमा पार्टटाइम पढाउँछिन् । पूरा समय उनी आश्रमका बाआमासँगै बिताउँछिन् । ‘आश्रमका बाआमासँगै दिन काट्न रमाइलो लाग्छ,’ उनी भन्छिन् ‘एकजना आमा जो वेलफेयर पेन्सनवाला हुनुहुन्छ । उहाँ आर्थिक रूपमा पनि सम्पन्न हुनुहुन्छ । तर, परिवारको साथ र माया नपाएकाले उहाँको स्वास्थ्य अवस्था नाजुक थियो । हेप्पी होममा आएपछि तंग्रिनुभाएको छ । वेलफेयरले लान धेरैपटक प्रयास ग¥यो । उहाँ मान्नुभएन ।’ यो देख्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । ज्येष्ठ नागरिकलाई माया, स्नेह र साथ चाहिने बेलामा परिवारको अवहेलना देख्दा दिक्क लाग्ने गरेको उनले बताइन् । इच्छाएको काम गर्न पाएकोमा शाक्यदम्पती सन्तुष्ट छन् । 

अन्तरिम संविधान २०६३ ले वृद्धवृद्धालाई संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षा प्रदान गर्ने भनेको छ । नेपालको संविधान २०७२ को धारा ४१ मा पनि ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने उल्लेख छ । कानुन कार्यान्वयन राम्रोसँग नहँुदाको भोग्नुपर्ने दुःख स्वयं उनीहरूले नजिकबाट बुझेका छन् । 

डा. शाक्यको दैनिकी वृद्धाश्रममा सुरु त्यहीँ पूरा 
डा. शाक्य बिहान नित्यकर्म सकेर आश्रममा भएका बाआमासँग चिया–नास्ता गरेर निजी क्लिनिक जान्छन् । दिउँसोको खाजा पनि उनीहरूसँगै खान्छन् । कहिलेसँगै खान नपाए उनीहरूले खाए–नखाएको बुझ्छन् । दिउँसो पनि वृद्धवृद्धासँगै भजन गाएर, खेलेर रमाइलो गर्छन् । 

कोही–कोहीले पैसा कमाउनका लागि यो पेसा गरेको भन्छन् नि भन्ने प्रश्नमा उनीहरूले भने, ‘वृद्धवृद्धाको दिसापिसाब सोहोरेर सेवा गरेको पैसाले हाम्रो चुलो बाल्नुपर्ने अवस्था छैन । कति कमायौँ, कति गुमायौँ भन्ने कुरा कि भगवान्लाई थाहा छ, कि त हामीलाई थाहा छ ।’ स्कुल, कलेज, मन्टेस्वरी, अस्पताललगायत सेवामूलक व्यवसाय मात्र होइन । वृद्धवृद्धा राख्ने यस्ता सेवामूलक व्यवसायमा पनि लगानी सकिन्छ भन्ने सन्देश समाजलाई दिन खोजेको उनीहरूको भनाइ छ ।
 

Last modified on 2019-12-19 15:33:16

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts