पोलियोविरुद्धको खोप अभियानमा फेसबुकले पाकिस्तानलाई सघाउने



Download our app to get more features

अलजजिरा, ३ माघ । सरकारी अधिकारीहरूले नै पोलियो भ्याक्सिनविरुद्धका सामाग्री सामाजिक सञ्जालमा राख्दै आए पनि पोलियो उन्मुलनमा पाकिस्तान सरकारले चलाइरहेको अभियानमा फेसबुकले सहयोग गर्ने भएको छ ।

पाकिस्तान विश्वको तीन पोलियो उन्मूलन नभएका देश मध्ये एक हो । तर धेरै वर्षको प्रयासपछि सन् २०१६ मा पाकिस्तानमा पोलियो रोगी घटेका थिए । सन् २०१८ मा पाकिस्तानमा जम्मा १२ जनामा पोलियो फेला परेको थियो । तर पाकिस्तानी अधिकारी र विश्व स्वास्थ्य संगठनको निस्क्रियताका कारण गतवर्ष यो संख्या बढेर एक ३६ पुगेको छ । तत्कालिन समयमा पोलियोविरुद्धको भ्याक्सिनले बालबालिकाको ज्यानै जाने जस्ता सामाग्री सामाजिक सञ्जालमा पोष्ट गर्दा नकारात्मक असर परेको थियो । 

सामाजिक सञ्जालमा राखिने यस्ता नकारात्मक सामाग्रीले पोलियो खोपकर्ताको ज्यानै जान सक्ने भन्दै पाकिस्तान सरकारले खोपविरुद्धका यस्ता सामाग्री फेसबुकबाट हटाउन आग्रह गरेको थियो । पाकिस्तान सरकारको आग्रहसँगै फेसबुकले त्यस्ता दर्जनौं सामाग्री हटाइसकेको छ । पाकिस्तान सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै साता फेसबुकका प्रतिनिधिहरू इस्लामाबाद भ्रमणमा आएका थिए । उनीहरूले सरकारको अभियानप्रति पुनः प्रतिबद्धता जनाएका छन् ।’ फेसबुकका क्षेत्रीय निर्देशक राफेल फ्रय्केलका अनुसार विश्वलाई नै पोलियोमुक्त बनाउने अभियानमा हामी सधै साथमा हुने छौं ।

यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी डा. जफर मिर्जाले पनि स्वास्थ्यसम्बन्धी सही सूचना सम्प्रेषण गर्न जोड दिएका छन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा आउने खराब सूचनाको प्रतिरोध गर्नुपर्छ ।’
पाकिस्तानमा पोलियोविरुद्धको खोप लगाउन धेरैले अस्विकार गर्दै आएका छन् । सरकारले वर्षैदेखि खोप अभियान चलाए पनि आफ्ना बालबालिकालाई कयौं स्थानीयले गलत सूचनाका कारण खोप लगाएका थिएनन् । अल कायदाका पूर्व नेता ओसामा बिन लादेनलाई खोज्न सिआइएका गुप्तचरहरुले पाकिस्तानी शहर एबोट्टावादमा नक्कली खोप अभियान चलाएका कारण पनि अहिलेसम्म यहाँका बासिन्दा ससंकित छन् ।   

अफगानिस्तान र नाइजेरिया अन्य दुई मुलुक हुन् जहाँ अझै पनि पोलियो उन्मूलन भइसकेको छैन । यद्यपि, यी देशमा पनि चाडै नै पोलियो उन्मूलन गर्ने अपेक्षा गरिएको छ । 
 

Last modified on 2020-01-19 11:35:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts