कोरोना संक्रमणपछि स्वस्थ भएकाहरुमा आजीवन हुन सक्छ स्वास्थ्यमा समस्याः अध्ययन

एजेन्सी, १० असार । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसका कारण लाखौं मानिसहरु संक्रमित भएका छन् । संक्रमित भएकामध्ये लाखौंको संख्यामा मानिसहरु स्वस्थ पनि भइरहेका छन् । तर, कोरोना संक्रमणका कारण स्वस्थ भएकाहरुलाई लामो समयसम्म स्वास्थ्य समस्याले सताउन सक्ने एक अध्ययनले देखाएको छ । बेलायतको टेलिग्राफ पत्रिकाका अनुसार कोरोना संक्रमण पछि स्वस्थ भएका मानिसहरुमा लामो समयसम्म स्वास्थ्य समस्या देखिन सक्छ र उनको फोक्सोमापनि नोक्सान पुर्याउन सक्छ ।
बेलायतको प्रमुख स्वास्थ्य एजेन्सी नेशनल हेल्थ सर्भिसको मापदण्ड अनुसार यो कुराको पुष्टि गरिएको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को मापदण्डमा भनिएको छ, ‘कोरोनाबाट निको हुने मध्ये ३० प्रतिशत बिरामीको फोक्सोमा क्षति हुन सक्छ, निरन्तर थकानको समस्या हुने र मानसिक रुपले पनि समस्या भइरहन सक्छ भने आईसीयूमा उपचार पछि निको भएका बिरामीमध्ये आधालाई लामो समयसम्म अन्य स्वास्थ्य समस्या हुन सक्छ ।’
स्वास्थ्य विज्ञहरुका अनुसार लगातार कोरोनासँग सम्बन्धीत नयाँ नयाँ प्रमाणहरु फेला परिरहेको छ । कोरोनाले गर्दा शरीरलाई स्थायी रुपमा समस्या हुन सक्छ । कोरोनाका कारण बिरामी भएपछि निको भएका मानिसमा मस्तिष्कलाई पनि क्षति पुर्याउन सक्छ र अलजाइमर जस्ता रोगको पनि खतरा हुन सक्ने विज्ञहरुको भनाइ छ ।
एनएचएसका कोभिड–१९ रिकभरी सेन्टरका प्रमुख हिलेरी फ्लोयडले कोरोना संक्रमण पश्चात निको भएकाहरुमा देखिन थालेको स्वास्थ्य समस्यालाई लिएर चिन्ता बढेको बताइन् । कोरोनाको लामो समयसम्म पर्ने प्रभावको बारेमा निकै कम जानकारी रहेको भन्दै उनले अधिकांश जसो बिरामीहरु कोरोना संक्रमणपछि निको भएर गएपनि बिरामीलाई निरन्तर उपचारको अवाश्यकता पर्ने भन्दै चिन्ता व्यक्त गरिन् ।
हिलेरीले ४० देखि ५० वर्ष उमेर समूहका धेरै कोरोना संक्रमित निको भएर घर फर्किएको भएपनि अहिले उनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य समस्या हुन थालेको बताइन् । उनले भनिन्, ‘कोरोनाका कारण संक्रमित हुनु अगावै ती व्यक्तिहरुले आफ्ना सबै काम आफै गर्ने गरेको, जिम जाने, स्विमिंग गर्ने, आफ्ना नियमित कामकाजमा व्यस्त भएपनि अब कोरोना संक्रमण नदेखिएपनि उनीहरु ओछ्यानबाट उठ्न समेत सकेका छैनन् ।’