अपडेट

चीनका पाँच लाख मानिसमाथि कडा लकडाउन

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, १५ असार । विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । अमेरिकाको एरिजोना, फ्लोरिडा, क्यालिफोर्निया, नेवादा लगायतका राज्यमा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । अमेरिकी स्वास्थ्य सचिव एलेक्स अजÞारले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि प्रभावकारी नीति अबलम्बन गर्ने मौका समाप्त हुँदै गएको चेतावनी दिएका छन् । उनले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि सरकार मात्रैले नभएर नागरिकले पनि भौतिक दूरीको नियम र मास्क लगाउने काम गर्नुपर्ने बताए । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २६ लाख ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै कोरोना भाइरसका कारण एक लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सूडानले राजधानी खार्तूममा आउने एक सातासम्मका लागि लकडाउन थप गरिदिएको छ ।  कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सात जुलाईसम्म राजधानी खार्तुममा लकडाउन बढाइएको सूडानी सरकारले बताएको छ । ८ जुलाईदेखि जनजीवन विस्तारै सामान्य बनेपछि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्मको कर्फ्यु भने जारी नै रहनेछ । सूडानमा हालसम्म कोरोना भाइरसका कारण ९ हजार २ सयभन्दा बढी संक्रमित भएका छन् भने ५ सय ७२ भन्दा बढीको मृत्यु भइसकेको छ ।

अस्ट्रेलियाको केहि राज्यमा कोरोना संक्रमण बढ्न थालेपछि दोस्रो चरणको सुरुवात भएको बताइएको छ । भिक्टोरिया राज्यका प्रमुख, उपनगरीय लकडाउन र घरमा रहनका लागि आदेश जारी गर्ने तयारी गरिएको छ । किनभने सँगै रहेको मेलबर्नमा कोरोना भाइरसको केसहरु फेला परेको छ । आइतवार मात्रै त्यहाँ ४० भन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् जुन अप्रिल महिनापछिको धेरै संख्या हो । अस्ट्रेलियामा हालसम्म कोरोना भाइरसका कारण ७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् भने १ सय ४ जनाको मृत्यु भइसकेको छ ।

ईरानका राष्ट्रपति हसन रूहानीले आउने सातादेखि केहि क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिने बताएका छन् । उनले आइतवार देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसका कारण प्रभावित क्षेत्रहरुमा फेरि लकडाउन जारी गरिने पनि बताए । ईरानमा पछिल्लो समय लकडाउन खुकुलो बनाएदेखि कोरोना संक्रमण तीव्र गतिमा बढेको छ । हालसम्म ईरानमा कोरोना भाइरसका कारण २ लाख २२ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १० हजार ५ सय नाघेको छ । 

श्रीलंकामा आइतवारदेखि आधिकारिक रुपमा लकडाउन हटाइएको छ । कोरोना भाइरसको महामारीका कारण देशव्यापी रुपमा लगाइएको लकडाउनलाई आइतवारदेखि औपचारिक रुपमा हटाइएको हो । श्रीलंकामा २० मार्चदेखि देशव्यापी लकडाउन जारी गरिएको थियो र पछिल्लो दुई महिनादेखि विस्तारै लकडाउन खुकुलो बनाइएको थियो । श्रीलंकामा हालसम्म कोरोना भाइरसका कारण २ हजार ३३ जना संक्रमित भएका छन् भने मात्र ११ जनाको मृत्यु भएको छ । 

चीनको राजधानी बेइजिंंगको आसपासको एक प्रान्तमां कोरोना भाइरसको नयाँ संक्रमित फेला परेपछि ५ लाख मानिसमाथि कडा लकडाउन लगाइएको छ । समाचार संस्था  एएफÞपीका अनुसार संक्रमण अहिलेपनि गम्भीर स्थितिमा रहेको भन्दै चेतावनी दिएको छ । स्वास्थ्य अधिकारिहरुका अनुसार बेइजिंगदेखि करिब १ सय ५० किलोमिटरको दूरीमा रहेको अंशिन काउन्टी क्षेत्रलाई पूर्ण रुपले शिल गरिएको छ । चीनमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको भन्दै चीन सरकारले कडाईं गर्न थालेको छ । राजधानी बेइजिंगमा पछिल्लो २४ घन्टामा २४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै मध्य जुनदेखि हालसम्म बेइजिंगमा कोरोना भाइरसका कारण ३ सय ११ जना संक्रमित फेला परेका छन् ।
 
बेलायतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख १२ हजार नोघेको छ । युरोपीय मुलुक बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ४३ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

युरोपीय मुलुकहरु कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । जर्मनीमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई लाख नजिक पुगेको छ । यस्तै चीनपछि कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको इटलीमा कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार नाघेको छ । यस्तै मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । 

अमेरिकापछि दोस्रो प्रभावित बनेको ल्याटिन अमेरिकी मुलुक ब्राजिल र पेरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ५७ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । ब्राजिल विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो जहाँ हालसम्म १३ लाख ४५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने हालसम्म ५७ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै अर्को ल्याटिन अमेरिकी मुलुक पेरुमा हालसम्म कोरोना भाइरसका कारण २ लाख ७९ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर संक्रमित हुनेको संख्या एक करोड २ लाख ४३ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वभर ५ लाख ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने विश्वभर संक्रमित भएकामध्ये ५५ लाख ५३ हजारभन्दा बढी स्वस्थ भइसकेको छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts