डब्लूएचओले भन्योः कोभिड-१९ को संक्रमण हावाको माध्यमबाट पनि फैलिदै छ, निर्देशिका परिमार्जन हुन्छ



Download our app to get more features

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलिँदै गएको कुरा स्विकार गरेको छ । 

यसअघि वैज्ञानिकहरुको एक समूहले विश्व स्वास्थ्य संगठनलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट समेत फैलिँदै गएको भन्दै मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । 

डब्ल्यूएचओले कोभिड १९ सम्बन्धी नियमित मिडिया ब्रिफिंगको क्रममा संगठनका प्राविधिक प्रमुख डाक्टर मारिया वा केरखोवले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिएको प्रमाणलाई स्विकार गर्दै मानिसलाई झन् बढी सचेत रहन बताइन् । 

संगठनका बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिएको विषयमा भेटेका प्रमाण भेटेपनि निश्चित रुपले कसरी हावामा कोरोना संक्रमण फैलिँदै गएको छ भन्ने विषयमा भन्न नसकिने बताए ।
 
सार्वजनिक स्थानमा विशेषगरि भिडभाड युक्त स्थान, कम हावा हुने र बन्द ठाउँमा हावाको माध्यमबाट भाइरस फैलिएको कुरा भने सत्य रहेको भन्दै उनले यस विषयमा थप अनुसन्धान गरेर प्रमाण जुटाउनु आवश्यक रहेको उल्लेख गरे ।
 
यसअघि सम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मुख्य रुपले संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सूक्ष्म छिटाहरुको माध्यमबाट फैलिने गरेको बताउँदै आएको थियो ।
 
डब्ल्यूएचओका अनुसार मानिसहरुबीच कम्तिमा ३ दशमलव ३ फिटको दुरी कायम गरेर संक्रमणलाई रोक्न सकिने छ । संगठनले यदि हावाको माध्यमबाट कोरोना भाइरसको संक्रमण फैलिएको कुरा पूर्ण रुपले प्रमाणित भयो भने ३ दशमलव ३ फिटको दुरी र भौतिक दुरीका नियमलाई परिवर्तन गर्नु पर्नेछ ।

प्राविधिक प्रमुख डा मारियाले आउने दिनमा विश्व स्वास्थ्य संगठनले यस विषयमा थप जानकारी र नियम सार्वजनिक गर्ने पनि बताइन् । उनले भाइरसको प्रसार रोक्नका लागि भौतिक दुरी मात्रै नभई अनिवार्य मास्कको प्रयोग र अन्य नियमहरुपनि लागू गरिने बताइन् । 

बीबीसीका अनुसार क्लिनिकल इन्फेक्शियस डिजिज जर्नलमा सोमवार प्रकाशित गरिएको एक खुला पत्रमा विश्वका ३२ मलुकका २ सय ३९ जना वैज्ञानिकहरुले प्रमाणसहित भनेका थिए, कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिरहेको छ । जसले पछिल्लो समय संक्रमणको गतिमा तीव्रता आएको छ ।

Last modified on 2020-07-08 10:08:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts