विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको दुई करोड नजिक
 
            एजेन्सी, २३ साउन । कोरोना संक्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा आज लगातार दशौं दिन ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । यस्तै मृत्यु हुनेको संख्या ४० हजार ६ सय नाघेको छ ।
लेबनानमा कोरोना भायरस संक्रमणको दरमा वृद्धि हुन सक्ने अनुमान गरिएको । बेरुतमा भएको बिस्फोटपछि त्यहाँको स्वास्थ्य सुविधामा कमी आउन सक्ने र त्यसले कोरोना संक्रमणको दरमा वृद्धि हुन सक्ने बताइएको । लेबनानका स्वास्थ्य मन्त्री हमद हसनले बिस्फोटमा परि घाइते भएकाहरुको उपचार र सुरक्षात्मक आपूर्तिको कमीले कोरोना संक्रमणको दरमा वृद्धि आउन सक्ने बताए । उनले केहि समयका लागि कोरोना संक्रमित बिरामीका लागि मात्रै फिल्ड अस्पतालको व्यस्था मिलाउन पनि निर्देशन दिएका छन् ।
विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले अमेरिकामा कोरोना महामारीबाट लड्नका लागि भइरहेको गतिविधि आफूले सार्वजनिक रुपले बोलेपछि आफूलाई र घरका सदस्यहरुलाई ज्यान मार्ने धम्की आउन थालेको बताए । समाचार संस्था सीएनएनसँगको कुराकानीमा उनले भने, ‘धम्की यति धेरैसम्म आउन थाल्यो की आफू र आफ्ना परिवारका सदस्यका लागि सुरक्षाकर्मी राख्नु परेको छ । मेरो परिवारलाई धम्की दिनुको साटो मलाई मात्रै दिए हुन्थ्यो ।’ कोरोना महामारीको सुरुवातदेखि नै डा फाउचीले विभिन्न तथ्यहरु सार्वजनिक गर्दैै आएका छन् भने अमेरिकाले विकास गरिरहेको कोरोना विरुद्धको खोपको अभियानमा पनि उनी सहभागि छन् ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड नजिक पुगेको छ । विश्वविद्यालयका अनुसार गत डिसेम्बरदेखि अगस्त ७ तारिखसम्म विश्वभर कोरोना भाइरसका कारण एक करोड ९२ लाख ७५ हजार ४ सय ९५ पुगेको छ । यस्तै हालसम्म १ करोड २३ लाख ७२ हजार ७ सय ८२ जना कोरोना संक्रमणपछि निको भएका छन् भने ७ लाख १७ हजार ९ सय ३६ जनाको मृत्यु भइसकेको छ ।
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                