डोनल्ड ट्रम्प ‘मोटाए’ तर उनका चिकित्सक भन्छन् 'सब ठीकठाक’



Download our app to get more features

बीबीसी, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तौल पछिल्लो पटक उनको चिकित्सकीय जाँच भएको भन्दा बढेको छ तर उनी ’एकदमै स्वस्थ’ रहेको उनका आधिकारिक चिकित्सक सन कोन्लेले बताएका छन् ।

ट्रम्पलाई अब उनको कोलेस्टेरोल स्तर घटाउन थप मात्राको औषधि दिइनेछ ।

गत साता गरिएका जाँचमा उनको वजन १ सय १० किलो रहेको पाइयो। एक वर्षअघि उनी करिब १ सय ८ किलोका थिए ।

उनको उचाइ ६ फिट ३ इञ्च रहेको छ ।

अन्य चिकित्सकहरूले उनको बडी मास इन्डेक्स ’बीएमआइ’ भनिने तौल र उचाइको अनुपातसम्बन्धी सूचकले ३० नाघेको हुनाले उनी चिकित्सकीय भाषामा ’मोटो’ भएको जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको अधिकारीहरूले जानकारी दिएको केही मिनेटमा उनको स्वास्थ्यसम्बन्धी जानकारी दिइएको थियो ।

के खान मन पराउँछन् ट्रम्प?
राष्ट्रपति ट्रम्पलाई सामान्य किसिमको मुटु रोग छ र उनलाई करिब पाँच किलो जति तौल घटाउन भनिएको थियो ।

उनलाई फास्ट फुड भनिने बर्गर जस्ता खानेकुरा तथा डाइट सोडा मन पर्ने बताइन्छ ।

खर्चबन्दीका बेला खाना आपूर्ति गर्ने संघीय कर्मचारी क्रियाशील नभएको भन्दै ट्रम्पले ह्वाइट हाउसमा ३ सय बर्गर, पिज्जा तथा फ्राइज मगाएका थिए ।

तिनको पैसाले आफैँले तिरेको पनि उनले बताएका थिए ।

स्वास्थ्यस्थितिलाई लिएर उनले विगतमा निकै प्रश्न पनि बेहोरे ।

उनले कहिले पनि रक्सी नपिएको बताइन्छ ।

साथै, उनी चुरोट पनि पिउँदैनन् ।

विवाद
चुनावी अभियानताका उनले एउटा पत्र प्रदर्शन गर्दै आफू राष्ट्रपति पदमा निर्वा्चित हुने ’हालसम्मकै सबभन्दा स्वस्थ व्यक्ति’ हुने दाबी गरेका थिए । सो पत्रमा हस्ताक्षर गर्ने चिकित्सकले पछि उक्त पत्र ट्रम्प स्वयंले लेखेको बताएका थिए ।

गत वर्ष ती डाक्टर रोनी ज्याक्सनले राष्ट्रपतिको जीन असाध्यै बलियो भएको र उनले राति चार वा पाँच घण्टामात्रै सुत्ने गरेको तथ्यले चिन्ता नजन्माउने बताएका थिए ।

पछिल्लो वार्षिक जाँचपछि डाक्टर कोन्लेले उनमा कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताए ।

उनको नाक, कान, आँखा, मुख, दाँत, गिजा, मुटु, फोक्सो, छाला, पेट तथा न्युरोलोजी प्रणालीमा कुनै गम्भीर समस्या नपाइएको जाँचपछिको टिपोटमा उल्लेख छ ।

उक्त विवरण अनुसार उनले लिँदै आएको कोलेस्टोरल नियन्त्रण गर्ने औषधि रोसुभ्यास्ट्याटिनको मात्रा चाहिँ १० एमजीबाट ४० एमजी पुर्‍याइएको छ ।

Last modified on 2019-02-15 14:45:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts