भारतमा हालसम्मकै धेरै ६४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारत, २५ साउन । भारतमा एकै दिन ६० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार लगातार १२ औं दिन भारतमा कोरोना संक्रमित ५० हजारभन्दा बढी फेला परेका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६४ हजार ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २१ लाख ५६ हजार ४ सय ४३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ८ सय ६१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ हजार ४ सय ८८ पुगेको छ ।
भारत कोरोना संक्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक हो । भारतको सबैभन्दा बढी प्रभावित राज्यमा महाराष्ट्र, कर्नाटक, उत्तर प्रदेश बनेको छ ।