ॐ अस्पतालमा १०४ वर्षीया वृद्धाले लगाइन् कोरोना खोप
 
            काठमाडौं, २६ फागुन । चाबहिलस्थित ॐ अस्पतालमा १०४ वर्षीया महिलाले कोरोना भाइरसविरुद्दको खोप लगाएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सुरु गरेको कोरोना खोप अभियान अन्तर्गत ॐ अस्पतालमा पुगेर ती महिलाले मंगलबार खोप लगाएकी हुन्।
ॐ अस्पतालमा पनि जेष्ठ नागरिकका लागि खोप केन्द्र बनाइएको छ। अस्पतालको खोप केन्द्रमा मंगलबार बिहान ११ बजे काठमाडौं महानगरपालीका वडा नं.७ कुमारीगालकी स्थानीय बासिन्दा १०४ बर्षीया जेष्ठ नागरिक मनरुपा चौलागाईंले कोभिड १९ विरुद्धको खोप लगाएकी हुन्।
छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आएकी मनरुपाले कुराकानीका क्रममा १९९० सालको भुँइचालो जाँदा १४ बर्षकी किशोरी रहेको बताइन्। उनले त्यसताकाको राणाकालिन समय र पञ्चायतकालिन समयको नेपाली जनजिवनबारे पनि खोप केन्द्रमा जानकारी गराएकी थिइन्।
१०४ वर्षको उमेरमा पनि मनरुपा सक्रिय छिन्। उनी चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्छिन्।
कुराकानीका क्रममा उनले आफूलाई साकहारी सबै खानेकुरा मनपर्ने र नमीठो लाग्ने कुनैपनि खानेकुरा नभएको बताइन्। उनलाई दही, दुध र फलफुल औधि मनपर्छ। थोरै थोरै तर पटक पटक खाइरहने र प्रशस्त पानी पिउने उनको बानी छ।
१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी छ। सधैं मास्क लगाएर हिँड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको उनले बताइन्। उनले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना रोक्ने खोप लगाउन आएको पनि बताइन्।
ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले कोभिड १९ विरुद्धको विश्वव्यापि लडाईं र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी खोप केन्द्रमा जेष्ठ नागरिकको उत्साहजनक सहभागिता रहेको बताए। उनले खोप केन्द्रलाई व्यवस्थित बनाइएको पनि जानकारी दिए।
निजी क्षेत्रवाट संचालित स्वास्थ्य सेवा प्रदायकहरुमध्ये अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको छ ।

 
                
                

 
                                    
 
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                